काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ ।
गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री प्रचण्डले भेट गर्नुभएको हो । पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ । मिटरब्याजी समस्याले हजारौँ किसान पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु । यस पटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।
प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

