काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिले उक्त निर्णय गरेको हो ।
जसका लागि जेठसम्म समयावधि तोकिएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले निर्णय सार्वजनिक गर्दै संगठन विस्तारबारे जानकारी दिनुभएको छ । यस्तै आगामी चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गर्ने निर्णय पनि गरिएको छ । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्नुपर्नेछ ।
यस्तै बैठकले माघ मसान्तभित्रै प्रदेश समितिका विस्तारित भेला हुने र प्रदेश समिति पुनर्गठन गर्ने निर्णय पनि गरिनेछ । सुरुमा माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ ।
यसैगरी माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला आयोजना गरिने बताइएको छ ।


