काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसलाई संघीय संसद् सचिवालयले प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको छ। संसद् सचिवालयले एक पत्र लेख्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सुविधा पाउने जनाएको छ।
संसद् सचिवालयका उपसचिव रामहरि थापाले माघ ४ गते कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्रमा भनिएको छ– ‘प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेरवहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भइ आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची९२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ।’
यसअघि कांग्रेस सभापति एवम् संसदीय दलका नेता देउवाले पुस २९ गते संघीय संसद् सचिवालायलाई पत्र लेख्दै आफूलाई प्रमुख प्रतिपक्षी दलको नेताले पाउने सुविधा उपलब्ध गराइदिन अनुरोध गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दा नेपाली कांग्रेसले पनि पक्षमा मत दिएको थियो। प्रतिनिधि सभाका २७० सांसद्मध्ये २६८ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद, प्रेम सुवाल र चित्रबहादुर केसीले विश्वासको मतको विपक्षमा मत दिएका थिए।
कांग्रेसले विश्वासको मतको पक्षमा मत दिएपछि नेमकिपाका सांसद सुवालले कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने आधार नभएको भन्दै प्रतिनिधि सभाको बैठकमै प्रश्न उठाएका थिए।


