काठमाडौं। नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो।
यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ। गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित भए। चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

