विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न पाइन्न : गगन थापा

दमौली। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे।

संविधान र निर्वाचन कानून बाझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भने, ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ। यो बेलामा नेपाली काँग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ।’ पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताए।

‘खासगरी नेकपा (माओवादी) केन्द्रले काँग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ काँग्रेसको मत परेको छ। म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ,’ उनले भने। महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली काँग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भने, ‘त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ।’ महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे। अरूसँग मिलेर जाँदा काँग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताए।

नेपाली काँग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने उनको भनाइ थियो। फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताए। सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उनले अब त्यसमै अल्झिएर बस्न नहुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय