विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन्।
नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुनुपर्ने धारणा राखे। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो।
‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी काँग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बन्न सक्ने सम्भावना छ,’ उनले भने। नेता कोइरालाले काँग्रेस र देशको राजनीति कठिन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए। सात वटै प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे संघीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे।
‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन। सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ,’ उनले भने। राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र संगठनका लागि गर्नुपर्नेमा जोड दिए।

