समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन्। नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।

प्रधानमन्त्री प्रचण्डले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गरे। वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति अगाडि सारिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

आजको युग विज्ञान प्रविधिको युग भएको उल्लेख गर्दै उनले यस युगलाई हामीले ‘डिजिटल इरा’का रूपमा संश्लेषण गर्न सकिने धारणा राखे। चौथो औद्योगिक क्रान्तिले सम्पूर्ण विश्व एवं मानव जातिको चिन्तन, जीवन र क्रियाकलापमा गुणात्मक बदलाव ल्याइदिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘विश्वमा यस्तो कुनै क्षेत्र, विषय र मुद्दा छैन, जुन सूचना-प्रविधिको पहुँचभन्दा पृथक होस्। डिजिटल प्रविधिको विकासले सामाजिक उत्पादन पद्धतिमा नै गुणात्मक परिवर्तन ल्याइदिएको छ।’

सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न एवं उच्चतम व्यावसायिक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्दै सम्पूर्ण पत्रकारको स्वास्थ्य, दुर्घटना तथा हूलदंगा वा आतंकको बिमाको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गर्ने एवम् त्यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील सबैलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले आग्रह गरे। चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको छ।’

सरकारको सो कार्यभारलाई गम्भीरतापूर्वक ग्रहण गर्न, आम श्रोता र दर्शकसम्म व्यवस्थित रूपमा सम्प्रेषण गर्न उनले नेपाल टेलिभिजनको ध्यान आकृष्ट गरे। प्रधानमन्त्री प्रचण्डले नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको उपलक्ष्यमा टेलिभिजन परिवारका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रोता एवं दर्शक महानुभावहरू, विज्ञापनदाता, परामर्शदाता एवं आम जनसमुदायमा आभार प्रकट गरे।

अठतीस वर्षअघि २०४२ सालमा आजकै दिन स्थापित नेपाल टेलिभिजनले आफ्नो प्रसारणका विभिन्न आरोह-अवरोह पार गर्दै देशको सबैभन्दा अग्रणी टेलिभिजनका रूपमा स्थापित भएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम भएकाले राज्यप्रतिको जिम्मेवारी र नागरिकप्रतिको जवाफदेहितामा आफूलाई अविचलित रूपमा प्रमाणित गरेको उल्लेख गरे।

उनले भने, ‘राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप टेलिभिजनले पनि आफूलाई परिमार्जन र रूपान्तरण गर्दै अगाडि बढेको तथ्यले टेलिभिजनको भूमिका र महत्त्वलाई थप प्रमाणित गर्दछ।’ यस वर्षदेखि विभिन्न सात भाषामा समाचार प्रसारणको आरम्भ हुनु थप महत्त्वपूर्ण रहेको भन्दै उनले टेलिभिजनले आम नागरिक र दर्शकको अपेक्षाअनुसार थप जिम्मेवार र व्यावसायिक बन्नुपर्ने चुनौती रहेको बताए। सो चुनौतीलाई अवसरमा बदल्न आफ्नो सम्पूर्ण ज्ञान, बुद्धि र विवेक संस्थाको हितमा खर्चिन पनि प्रधानमन्त्री प्रचण्डले टेलिभिजनलाई आग्रह गरे।

प्रादेशिक च्यानल विस्तारको कार्यलाई टेलिभिजनले थप उचाइका साथ आवश्यकता र प्राथमिकताका आधारमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले भने, ‘काठमाडौंबाट प्रसारण हुने टेलिभिजनले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ। यसरी हेर्दा देशका सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ।’

नेपाली भाषा, कला, संस्कृति र पहिचान विश्वव्यापी रूपमा स्थापित गर्न सफल भएकामा प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनलाई आभार व्यक्त गरे। उनले टेलिभिजनले आगामी दिनमा व्यावसायिक दक्षतामा अभिवृद्धि गर्दै थप अत्याधुनिक, द्रुत र व्यवस्थित सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय