सांसद अरुण चौधरी कारागार चलान

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी र्पुयाएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो।

अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो। फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए। दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए। त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो।

बिहिबार दिउँसो सांसद चौधरीलाई बाँकेको बैजनाथपुरबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई हवाईजहाजमार्फत नेपालगञ्जबाट काठमाडौं र त्यहाँबाट धनगढी ल्याइएको थियो।

कारागार चलान भएका सांसद चौधरी २०७४ सालको स्थानीय तह चुनावमा जलाइएको ट्याक्टरका धनी महादेव बजगाईँसँगै लम्कीचुहा नगरपालिको मेयरमा उम्मेद्वार बनेका थिए। मेयरमा हारेका उनी २०७४ कै प्रदेश सभा सदस्य पदको निर्वाचनमा कैलाली–२ को ख बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भएर निर्वाचन लडेका थिए।

२०७९ मंसिर ४ गतेको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय