काठमाडौं। नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक बोलाएको छ। बैठक कांग्रेस संदीय दलको कार्यालयमा शनिबार बिहान ११ बजेका लागि बोलाइएको कांग्रेसका नेताहरुले बताएका छन्।
राष्ट्रिय सभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा कांग्रेसले आफू नेतृत्वको विपक्षी दलहरुको मोर्चाको बैठक बोलाएको हो। बैठकमा नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ। नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने तयारी गरेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
लामो समयदेखि रिक्त रहेको राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन सोमबार गर्ने संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ।सचिवालयले आइतबार उम्मेदवारी दर्ता गर्ने र सोमबार मध्यान्ह १२ बजे निर्वाचन हुने तालिका सार्वजनिक गरिसकेको छ। प्रतिनिधि सभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि उम्मेदवारी दर्ता गराउन लागेको छ।
तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन। सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैन।बैठकमा लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।
लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ। माघ २५ मा हुने निर्वाचनमा कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। विपक्षी मोर्चाको बैठकमा सत्ता गठबन्धनमा देखिएको खटपट र पूर्ववत गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरुको भनाइ छ।

