काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गरेको बताएका छन्। आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले सबै वर्ग, जाति र समुदायलाई समान अवसर तथा प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए।
‘अहिले आर्थिक चुनौती छन्, त्यसलाई सही बाटोमा लैजानु छ, समतामूलक समाजको निर्माण गर्नुपर्ने छ। राष्ट्रिय एकताको आधार पनि यही नै हो,’ उनले भने, ‘उत्पीडितको एकताले मात्र देशको रक्षाका साथै जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ।’ प्रधानमन्त्री प्रचण्डले उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको उल्लेख गरे। राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनको भनाइ थियो।
आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौं। छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिमलगायत आयोग बनाउने निष्कर्षमा पुगेका हौं।’ उनले राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व पूर्ण नभए पनि सन्तोषजनक भएको बताए।
‘यो पूर्ण छैन। तर, यो निकै महत्त्वपूर्ण कुरा हो। यसलाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउनेबारे छलफल चलिरहेको छ। त्यसका लागि हाम्रो प्रयास जारी रहनेछ,’ उनले भने। समाज रूपान्तरणमा भएका संघर्ष र त्यागको सम्मान गर्न हिच्किचाउन नहुने उनको भनाइ थियो।
‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ। यो अधिकार हाम्रै संघर्षको परिणाम हो। एकीकृत र केन्द्रीकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा लड्दै आएको छु। भोलि पनि लड्नेछु। कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन। जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

