काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारण सभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताए।
‘स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सरकारमा सहभागी भएका छौँ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा धेरै विसङ्गति र विकृति छन् । त्यसलाई हटाउन हामी डटेर लाग्छौं। स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गरेर परिवर्तन गरिने छ।’ मन्त्री गिरीले स्वास्थ्य पत्रकारलाई स्वास्थ्य क्षेत्रका विसङ्गति र विकृतिविरुद्ध कलम चलाउनसमेत आग्रह गरे। गुणस्तरीय स्वास्थ्य सेवाका लागि मन्त्रालय लागि परेको उनले उल्लेख गरे।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवा जनतामाझ पुर्याउनका लागि लागिपरेको बताइन्। यस्तै सांसद निशा डाँगीले जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनुपर्ने उल्लेख गरिन्।

