काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त भएका छन्। करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई नियुक्त गर्न बाटो खोलेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र राईकाअनुसार युवा तथा खेलकुद मन्त्रालयले पारित गरी आएको पत्र क्यानलाई पठाइएको र अब सम्झौता गरी औपचारिक रुपमा प्रशिक्षण सुरु गर्न पाउने भएका छन् ।
औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन्। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।
नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो ।
आवेदन दिएकामध्ये भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिइएको हो । त्यसबाट देशाई छनोट भएपछि नियुक्त भएका हुन् ।