काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।
कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने उहाँले बताउनुभयो । तर विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उहाँको भनाइ थियो ।
आज प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे । संसदलाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विगतमा सरकारहरूले आफु अनुकुल अध्यादेश ल्याउनका लागि हतार हतार संसद अधिवेसन अन्त्य गरेको भन्दै आलोचना हुने गरेको थियो ।

