काठमाडौं। अमेरिकी नियोग यूएसएआईडीले नेपाललाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेको छ। नेपाल सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीलाई बढोत्तरी गर्न भन्दै यूएसएआईडीले सहयोग घोषणा गरेको हो। नेपाल भ्रमणमा रहेकी यूएसआईडीकी प्रमुख सामन्था पावरले उक्त सहयोगको घोषणा गरेकी हुन्।
पावरले सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआईडीले ५ करोड ८५ लाख अमेरिकी डलर नेपाली करिब साढे ७ अर्ब रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेकी हुन्।
उक्त रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश रहेको यूएसआईडीले बताएको छ। यस्तै,रकममध्ये करिब २ करोड डलर प्रादेशिक तथा स्थानीय सरकारहरूको सेवालाई सुदृढमा खर्च गर्नु पर्ने छ।
त्यस्तै, नागरिक समाज र सञ्चार माध्ययले आधारभूत स्वतन्त्रता र जबाफदेहीतालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायहरूका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई करिब १ करोड ८५ लाख डलर समाविष्ट रहेको बताइएको छ।
पावरले उक्त सहयोग घोषणा गरेपछि यूएसआईडीले जारी गरेको विज्ञप्तिमा नयाँ सरकारले जारी गरेको न्यूनतम कार्यक्रमलाई सहयोग पुर्याइने उद्देश्य रहेको बताइएको छ। ‘नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्ट लगायतका सरकारी प्राथमिकताहरूसँग हाम्रो सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न युएसएआईडी तत्पर छ,’ यूएसएआईडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।