नामिबियालाई हराउँदै स्कटल्याण्ड विजयी

काठमाडौं । ओपनर जर्ज मुन्सेको सानदार शतकमा आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार(आज) मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो । सिरिजमा नामिबियाको यो लगातार दोस्रो हार हो । मंगलबार नामिबिया नेपालसँग पराजित भएको थियो ।

नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले । यस्तै केलि कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । नामिबियाका लागि कुनै खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए । जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शून्य रनमा आउट भए ।

नेपालविरुद्ध मंगलबार भएको खेलमा शतक प्रहार गरेका माइकल भान लिङ्गेन १४ बलमा ४ रन मात्र बनाए । उनी सफियान सरिफको बलमा बोल्ड आउट भए । मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३र३ विकेट लिए ।

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तराष्ट्रिय खेलमा तीन खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।

सात टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्ड ३३ खेलमा ४८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्डले जारी विश्वकप लिग टूको शीर्ष स्थान पक्का गरेको छ ।

अरू टोलीले बाँकी सबै खेल जितेमा पनि स्कटल्याण्ड भन्दा अगाडी पुग्नेछैन । नामिबिया भने ३२ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले आगामी जुनमा जिम्बाबेमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाइसकेको छ ।

मंगलबारबाट सुरु त्रिकोणात्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीन वटै टिमले एक अर्काविरुद्ध समान २र२ खेल खेल्ने छन् ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय