राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्छ : माधव नेपाल

लेखनाथ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ।’

नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो। सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए।

‘सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाग्नुभएको छ हेरौं त्यो प्रयास सफल हुन्छ कि हुँदैन। देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔँ,’ उनले भने।

आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने कुरा उनले स्पष्ट पारे। कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लगायतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि अध्यक्ष नेपालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर