काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् ।
बुधबार (आज) दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले आयोगलाई बलियो बनाउने बताएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधन स्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ भन्ने कुरा मापन हुन्छ । तसर्थ, आयोगलाई शक्तिशाली र साधन स्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठुलो महत्त्व र भूमिका छ ।’
आयोगका सातै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

