गोंगबु घटनाको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्।’

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वानुमान नगरेको बताए। छलफलमा उनीहरूले घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्ति सुरक्षाको पूर्वानुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बिच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको ब्रिफिङ गरेका थिए।

छलफलका क्रममा उहाँहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए। प्रधानमन्त्री प्रचण्डकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्ति सुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर