अभिनेता पल शाह आज जेलमुक्त हुँदै

काठमाडौं। अभिनेता पल शाह आज जेलमुक्त हुँदैछन् । पोखरा उच्च अदालतबाट नाबालिग यौन दुव्र्यवहारको मुद्दामा सफाई पाएका अभिनेता पल शाह सोमबार कारागारबाट छुट्दैछन् । पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाइई दिएकाले शाह सोमबार तनहुँ जिल्ला कारागारबाट छुट्ने भएका हुन्।

शाहका कानूनी सल्लाहकार कमलामोहन वाग्लेले सोमबार कार्यालय खुलेपछि शाह जेलमुक्त हुने जानकारी दिएका छन्। शाहमाथि सुटिङका क्रममा आफूमाथि बलात्कार गरेको भन्दै एक १७ वर्षीया नाबालिकले २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन्। शाहले फागुन १५ गते आत्मसमर्पण गरेका थिए। ति बालिकाले नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन्।

सुरुमा बलात्कार भनी जाहेरी दिए पनि पछि बकपत्र गर्दा भने ती नाबालिगले बयान फेरेर बलात्कार नभएको बताएकी थिइन्। सोही मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा र नवलपुर प्रहरीले नवलपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। तीमध्ये तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिँदा नवलपुरले भने कैद र जरिवाना र क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

तर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।

त्यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई नाबालिग बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख भराउने फैसला गरेको थियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले गत भदौ २० गते उक्त फैसला सुनाएको थियो। त्यसयता शाह कैदमै थिए।

जिल्ला अदालतको सोही फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। सोही पुनरावेदनउपर भएको इजलासले शाहमाथिको ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइको फैसला सुनाएको हो।

आइतबार बसेको इजलासको बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रामप्रसाद अधिकारी र शाहका पक्षबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले बहस गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय