काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार(आज) पनि शेयर बजारमा घट्न क्रमले निरन्तरता पाएको छ । हिजो २ महिनापछि २ हजारबाट तल झरेको नेप्से आज पनि १.३३ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.४८ अंकले गिरावट हुँदा १९६९.०१ अंकमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक सर्वाधिक २.६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २.३२ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाखको कारोबार हुँदा शिवं सिमेन्टको ६ करोड ३ लाख र एनआईशी एशिया बैंकको ४ करोड ३७ लाखको कारोबार भएको छ ।
आज नेप्सेमा कुल २१६ कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ । यस्तै १९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३ कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबार भएकामध्ये बुद्धभूमि हाइड्रोपावरको शेयर मूल्य ४.२९ प्रतिशतले वृद्धि हुँदा युनिक नेपाल लघुवित्तको शेयर मूल्य ४.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको शेयर मूल्य ३.९१ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले गिरावट हुँदा स्वाभिमान लघुवित्तको शेयर मूल्य ५.८० प्रतिशत र नाडेप लघुवित्तको शेयर मूल्य ५.७४ प्रतिशतले गिरावट भएको छ ।

