एलडिसीको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ कतार जाने

काठमाडौं। अति कम विकसित मुलुकहरू(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्ने भएका छन्। यही फागुन २१ देखि २५ गतेसम्म आयोजित सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालले यस वर्ष अति कम विकसित देशहरू (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो। उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत रहेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडिसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन्। त्यस्तै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ। उपप्रधानमन्त्री श्रेष्ठ यही फागुन २३ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर