कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन्।
पोखरामा शनिबार प्रदेशसभा सदस्यको अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता र देशमा अर्थतन्त्रमा देखिएको सङ्कटलगायतका समस्या समाधान गर्न न्यूनतम सहकार्य अनिवार्य रहेको बताए।
उनले भने, देशमा विद्यमान समस्या समाधान गर्न दलबीच सहकार्य हुनुपर्दछ। अहिले सबै दललाई जुटाउन प्रयास गरेपनि जुट्न सकेन, एमाले र राप्रपा सहमत नहुँदा सरकारबाट बाहिरिएका छन्। यस अवस्थामा आठ दल बसेर सहकार्य गर्दै अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ।’
महासचिव गुरुङले आगामी राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनपर्यन्त सुरुआतदेखि अहिलेसम्म लोकतन्त्रको रक्षा र मुलुकको परिर्वतनका लागि लागि परेको उल्लेख गरे। फागुन २५ गतेको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित रहेको गुरुङले दाबी गरे।

