माओवादी धारका नेताहरूको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठक सकिएको छ। मंगलबार बिहान बसेको बैठकले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने गतिविधिहरूको प्रतिवाद गर्न एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी धारका नेताहरूको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा आफूहरू दृढ रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा नेताहरू एकमत रहेका छन्। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर