काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ। यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। उपराष्ट्र्पतिको निवार्चन आगामी चैत ३ गते हुनेछ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ। त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने र ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यक्रम तय भएको छ।
उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ।

