अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकले शाक्यलाई सर्वसम्मत रूपले उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए। नेपाली महिला आन्दोलनमा लामो समय सक्रिय शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन्। उनी नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत हुन्।

एमाले उपमहासचिव ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने बताए। पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरीतको कुरा भएको उनको भनाइ छ।

उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर