काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
आज शनिवार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताएका हुन् ।
उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिए ।
उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे । आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरुले उम्मेदवारी फिर्ता नलिने उनको भनाइ छ ।

