काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् ।
ओलीले आज शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताए ।
ओलीले नेकपा एमाले मुलुकमा सबल राष्ट्रिय शक्ति निर्माण गर्न लागे पनि विरोधीहरू त्यसलाई असफल पार्न लागिरहेको बताए ।
ओलीले भने– ‘हामीभित्र कुनै प्रकारका समस्या छैनन् । यसै त हामी एउटा गठबन्धनसँग या हाम्रो विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौ । अहिलेको राष्ट्रिय राजनीति हामी एकातिर अरू अर्कोतिर भएको छ’, अध्यक्ष ओलीले यसलाई नराम्रो मान्नुपर्ने कुनै कारण नभएको बताए । ‘बहुदलीय व्यवस्थामा दशथरी दशतिर फर्किनुभन्दा दशथरी एकै ठाउँमा जम्मा भएका छन् त्यो राम्रो हो ।
यद्यपि एक्ला एक्लै लड्दा परिणाम बेग्लै हुन्थ्यो । तर दीर्घकालीन हिसाबले भन्ने हो भने दुई दुई विचार, उद्देश्य र पक्षको बिचमा प्रतिस्पर्धा भइरहेको छ’ ओलीले भने ।

