काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्ग निर्देशक सिद्धान्त रहने बताएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गरे।
राष्ट्रपति पौडेलले भने, ‘संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु। वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु।’ आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उनले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे।
‘यस महत्त्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रष्ट पार्न चाहन्छु। गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु,’ उनले भने।
राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने राष्ट्रपति पौडेलले प्रण गरेका छन्। संविधानले नेपालका तमाम जनतालाई असीम अधिकार प्रदान गरेको उल्लेख गर्दै उनले यसको जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिन सबैको परम कर्तव्य भएको बताए। पटक पटकका नयाँ नयाँ प्रयोग नेपालले भोग्न सहज नहुने उनको भनाइ थियो।

