काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आज आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मतदान सुरू भएको छ ।
मतदान बिहान ८ बजेदेखि सुरू भएको हो भने दिउँसो ४ बजेसम्म जारी रहने छ । विद्यार्थीहरुबीच झडप हुनसक्ने त्रासले निर्वाचन हुने क्याम्पस आसपासका क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर मतदान सुरू गरिएको छ ।
त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुन लागेको हो ।
प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।
निर्वाचनमा मूख्य प्रतिस्पर्धा सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुको मोर्चा र नेकपा (एमाले) विद्यार्थी संगठन अनेरास्ववियुबीच हुने छ ।
१० क्याम्पसमा निर्वाचन नहुने
विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय त्रिविअन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा निर्वाचन नहुने भएको छ।
विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो।
स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
त्यस्तै आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन।
यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ। प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जनाए।
चार क्याम्पसमा विद्युतीय मेसिन
निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन्।
त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिए। ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ।
उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२÷१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ।
उनले चार क्याम्पसमा मतपरिणाम आजै सार्वजनिकसमेत हुने बताए। त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन्। त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन्।

