काठमाडौं। नेकपा एकीकृत समाजवादीले महासचिवमा घनश्याम भुसाललाई मनोनयन गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
त्यस्तै बैठकले यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय भएको गरेको छ। घनश्याम भुसाल गत पुस २९ गते नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए। गत निर्वाचनअघि उनी एमाले परित्याग गरी स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका थिए। उनी पराजित भएका थिए।
भुसाल २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका थिए। साथै २०७८ मंसिरमा भएको दसौं महाधिवेशनमा उपाध्यक्ष पराजित भएका थिए। यस्तै बैठकले उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव खतिवडाले जानकारी दिए।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ। ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अबदेखि सत्तापक्षमा बस्ने निर्णय भएको छ,’ उनले भने, ‘सरकारमा जाने विषयमा छलफल अगाडि बढाउने निर्णय भएको छ।’ एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद छन्।

