प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय

काठमाडौं। नेपाली काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र सोहीअनुसार संसदीय दललाई निर्देशित गरेको जानकारी दिए। ‘सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। सोही अनुसार संसदीय दललाई निर्देशित गरेको छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले भोलि संसदमा विश्वासको मत लिँदैछन्।

बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको महतले बताए।आजको संसद् बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै विश्वकप क्रिकेटको छनोट चरणमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई तथा आगामी खेलको लागि शुभकामना दिने निर्णय पनि बैठकले गरेको महतले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर