चितवन–२ उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जनाको नाम सिफारिस

काठमाडौं। आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ ।चितवन कांग्रेसको बैठकले गत मंसिरमा सम्पन्न निर्वाचनका उम्मेदवार उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो ।

बैठकले पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै केन्द्रमा पत्राचारसमेत गरेको छ। बैठकले सिफारिस गरेका उमेदवारहरुमा देवेन्द्र गुरूङ,जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ,राजन कार्की,कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उमेदवारको नाम सिफारिस गरेको हो ।

यसैगरी, बैठकले उपनिर्वाचनलाई सहज बनाउन र विजय हासिल गर्नका लागि यसअघि चितवन २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको लागिसमेत माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचार गरेको छ ।

जसअनुसार कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर