म्याग्दी । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ । पिढ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो-ओरालो गर्नेहरुको सङ्ख्या पनि पातलिँदै जान थालेको हाे ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने प्रायः सबै भित्री गाउँमा सडक सञ्जाल पुगिसकेको छ । जसले सवारी साधनको सङ्ख्या र मानिसको कोलाहल बढाएको छ । पदमार्ग मासेर बिस्तार गरिएका सडक सञ्जालले पदमार्गमा हिँड्नेहरु यतिबेला मास्क लगाएर पदयात्रा गर्न बाध्य छन् ।
लमजुङबाट मनाङसम्म र म्याग्दीबाट मुक्तिनाथसम्म मोटर बाटो बनेपछि पदमार्गको अस्तित्व सङ्कटमा पर्नुका साथै यस क्षेत्रको सौन्दर्य पनि हराउँदै गएको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् । पदयात्रा व्यवसायीको सङ्गठन टानको पश्चिमाञ्चलक पूर्वअध्यक्ष दीपकराज अधिकारीका अनुसार पैदलमार्गका सिँढी डोजरले भत्काएर मोटर बाटो निर्माण हुन थालेपछि अन्नपूर्ण क्षेत्रको पदयात्रा पर्यटन नै सङ्कटमा परेको छ ।

