काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नागरिकमा नैराश्यता रहेको बताएका छन्। बिहीबार सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनमा उनले नागरिक अहिले सबैभन्दा धेरै नैराश्यतामा रहेको बताएका हुन्। यसअघि नागरिक यति धेरै आत्तिएको अवस्थामा आफूले नदेखेको उनले बताए।
उनले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेकोप्रति चिन्ता व्यक्त गरे। महामन्त्री थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले हिजोभन्दा आज राम्रो हुँदैछ भनेर नागरिकमा आशाको सञ्चार गर्न सक्नुपर्ने उनको भनाई छ।
‘हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन्। हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदैछ भनेर कसैले आश गर्न सकिरहेको छैन,’ उनले भने, ‘मान्छेले राजनीतिक दाउपेचका समाचार सुनेर खुसी हुने अवस्था छैन। वास्तवमा अवस्था त्यति धेरै बिग्रिएको पनि होइन, त्यसैले मान्छेले घरमा सुत्दै गर्दा देशमा केही न केही त राम्रो हुँदैछ भनेर आशा राखेर सुत्न पाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूको भूमिका होस्।’
उनले अगाडि थपे, ‘मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन। मैले कसैलाई पनि अत्त्याउन खोजेको होइन, तर मैले काम गर्दा जे अनुभूति गरिरहेको छु, त्यो भन्दैछु कि अहिले मुलुकको भविष्य ठानिएको तन्नेरी पुस्ता बेस्सरी आत्तिएको छ।’

