भैरहवा। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि काँग्रेस मजबुत बनाउन लागिपरेको बताएका छन्।
काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए। ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले काँग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ,’ उनले भने।
महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए। उनले भने, ‘केही साथीहरू भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन। जे पाएको छु, लडेर पाएको छु। साथीहरूको माया र शुभेच्छाले अगाडी बढेको छु।’
महामन्त्री थापाले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गरे।

