षड्यन्त्र गरेर बारा २ मा सिट खाली गराइएको सिके राउतको भनाइ

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन्। माओवादी नेता शिवचन्द्रप्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बारा-२ मा हुने उपनिर्वाचनमा कुशवाहलाई जिताएरै छाड्ने बताए।

राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरूको उद्वारका लागि बनेको पनि बताए। माओवादीका कारण कुशवाह पटक-पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ। जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिष्करण र अन्यायमा परेका नेताहरूको सम्मान गर्दै आएको उनले स्मरण गराए।

बारा-२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ। ‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो। बारा-२ मा जबरजस्ती सिट खाली गर्न लगाइयो। त्यहाँका जनताको जनमतको अपमान भयो। भोट दिएको तीन महिना नपुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’ उनले भने।

सिट खाली भएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए। साथै, निर्वाचन आयोगका प्रमुख आयुक्तले महिलाबाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनको आरोप छ। उनले बारा-२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबी गरे।

कुशवाहलाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनले बताए। लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहलाई त्यहाँका जनताले जिताउने उनको दाबी छ। माओवादी नेता शिवचन्द्र कुशवाह आज मात्र जनमत पार्टीमा प्रवेश गरेका छन्। उनलाई अध्यक्ष राउतले पार्टीमा स्वागत गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर