काँग्रेस पूर्वसहमहामन्त्री जोशी र कोइरालाको कारबाही फुकुवा

काठमाडौं। नेपाली काँग्रेसले तनहुँ, चितवन र बाराका नेताकार्यकर्तालाई गरेको अनुशासनको कारबाही फिर्ता लिएको छ। आगामी वैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरूमा २०७९ सालभन्दा अघि बागी उठेका काँग्रेस नेताहरूको कारबाही फुकुवा भएको हो।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र काँग्रेस चितवन पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। जोशी पूर्वगृहमन्त्री समेत हुन्।

बैठकले ०७९ वैशाखमा सम्पन्न निर्वाचनबाहेक त्यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने सबैको कारबाही फुकुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए। ‘०७९ को निर्वाचनभन्दा पहिले बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ,’ बैठकपछि निर्णय सुनाउँदै सहमहामन्त्री पाण्डेले भने।

जोशीले २०७४ सालमा रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए। उनलाई २०७५ सालमा अनुशासनको कारबाही गरिएको थियो। यसैगरी तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध चितवन- ४ मा दोस्रो संविधान सभा चुनावमा विकास बागी उठेका थिए। उनलाई पनि २०७० मा कारबाही गरिएको थियो।

साथै बैठकले बारा-२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको उनले जानकारी दिए। यसअघि काँग्रेसले तनहुँ-१ बाट गोविन्द भट्टराई र चितवन-२ बाट जितनारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर