काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तनहुँ-१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताएका छन्। काँग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि आयोजित कार्यक्रममा उनले भने, ‘तनहुँको पाँच वर्ष काँग्रेसलाई जिम्मेवारी तनहुँवासीले जिताएको मान्छेले राष्ट्रपति बन्नु भएको छ। कसैका लागि प्रयोग गर्ने ठाउँ होइन।’
थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णीम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनाललाई टुरिस्ट उम्मेदवारको संज्ञा दिए। वैशाख १० गतेको उपनिर्वाचनमा टुरिस्ट उम्मेदवारलाई मतदाताले सबक सिकाउनुपर्ने उनले बताए। उनले तनहुँ-१ मा उम्मेदवार बनेका गोविन्द भट्टराई भने माटोले चिनेको उम्मेदवार रहेको बताए।
‘यहीँ पढेका र संघर्ष गरेकाहरू योग्य हुन्छन् भन्नका लागि गोविन्द भट्टराईलाई जिताउनुपर्छ। नेपालकै विश्वविद्यालयमा पढेका र यहीँ केही गर्न सकिन्छ भनेर संघर्ष गरिरहेका हामीहरू योग्य होइनौं ? हामीलाई सपना देख्ने अधिकार छैन ? यदि गोविन्द भट्टराईलाई जिताइएन भने हामीले यहीँ माटोमा, यहीँ माटोका लागि गरेको संघर्ष ठीक छैन भन्ने सन्देश जान्छ,’ उनले भने।
माओवादी र एकीकृत समाजवादी लगायतका नेता कार्यकर्तालाई पनि भट्टराईले न्याय गर्ने उनले बताए। भट्टराईले पार्टीभित्रका नयाँ र पुराना नेताहरूलाई जोड्न सक्ने र गठबन्धन दलहरूलाई पनि साथसाथै लैजान सक्ने थापा बताउँछन्। उनले भट्टराई विजयी भएपछि बिलाएर नजाने पनि बताए। ‘गोविन्द भट्टराई, हराउने कराउने, डराउने र कराउने मात्र सांसद बन्नु हुन्न। यसको विश्वास म लिन्छु। गोविन्द भट्टराईलाई जिताएर गलत गरेछु भन्ने हुँदैन,’ उनले भने।

