काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय शिक्षा विधेयक छिटो संसद्मा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आयोजनामा विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताए।
सभामुख घिमिरेले संसद्मा सो विधेयक आएपछि त्यसलाई अघि बढाउने सवालमा आफ्नोतर्फबाट भूमिका निर्वाह हुने स्पष्ट गरे। ‘शिक्षामा भएका कानुन कार्यान्वयन गर्नुपर्छ। ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौं भनेर तपाईंहरुले छलफल गर्नुपर्छ,’ उनको भनाइ थियो।
‘संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ,’ उनले अगाडि थपे, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन।’ उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताए।

