काठमाडौं। सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ। करिब एक दर्जन घाइते भएका छन्।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन्। उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए। अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन्।
घाइते हुने नेपालीहरुमा ४० वर्षीया गिता सापकोटा, ३८ वर्षीया ज्योती गुरुङ र ४३ वर्षीय रमेश खनाल उल्लेख छ। उनीहरुको ठेगाना ‘नेपाल’ मात्र लेखिएको छ र अस्पताल भर्ना भएको उल्लेख छ।
मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो। हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ।

