काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलअन्तगर्त दिल्ली क्यापिटल्सलाई पराजित गर्दै गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा गुजरातले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय इनिङ खेले ।
दिल्लीका एनरिक नोर्कियाले दुई तथा खलिल अहमद र मिचेल मार्शले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो ।
दिल्लीका लागि कप्तान डेविड वार्नरले ३७, सर्फराज खानले ३०, अक्षर पटेलले २२ तथा अविशेक पोरेलले २० रन बनाए ।गुजरात मोहम्मद सामी र राशिद खानले समान तीन–तीन तथा अल्जारी जोशेफले दुई विकेट लिए ।