गृहमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेट

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच आज शिष्टाचार भेट भएको छ। गृह मन्त्रालयमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा शान्ति प्रक्रिया र नेपालको राजनीतिक स्थीरताबारे राजदूत थम्पसनले चासो राखेका थिए। अमेरिकाले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीतिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने उनले भनेका थिए। राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा पनि राजदूत थम्पसनले चासो लिएका थिए।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए।

संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यससम्बन्धी विधेयक संसद्‌मा पेस भइसकेको समेत उनले बताए। साथै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर