काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा उनले तीव्ररूपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको बताएका हुन्।
थापाले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए। सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै अल्मल्लिएको उनले टिप्पणी गरे। ‘हामीले त प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाई त अब हिँडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस्। हिँडेर पुग्ने सुविधै छैन हामीसँग। हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्न सक्ने अवस्था छ,’ उनले भने, ‘तर सरकार दौडिन सुरु नै गरेन। अझै पनि तुना बाँधेको जस्तो छ। कहिले तुना बाँधेर बस्छ। कहिले कुर्सी खोज्छ। अल्मल्लिएको जस्तो भयो। यसले दौडिन सुरु गर्नुपर्यो।’
महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिना जति अनुहार पनि नदेखाई काम गर्नुपर्ने बताए। ‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ। मलाई एकदम नरमाइलो लाग्छ, फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन,’ उनले भने।
‘वार टाइ मेन्टालिटी’ अनुसार काम गर्नुपर्ने थापाको भनाइ छ। ‘युद्धको बेला जहाँ जे देखिन्छ त्यही खाइन्छ, जहाँ बस्न मिल्छ बसिन्छ। जहाँ काम गर्न मिल्छ गरिन्छ नि, त्यसरी काम गर्ने बेला हो यो। त्यसरी जुट्ने बेला हो,’ उनले भने, ‘सरकारका मानिस त्यसरी काम गरिरहेको छ, जुटिरहेको छ भन्यो भने त्यसले एउटा माहौल ल्याउँछ। अनि त्यो माहौलले सबैलाई मैले पनि त्यो ढंगबाट काम गर्नुपर्छ र सोच्नुपर्छ भन्ने लाग्छ।’
उनले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिए। नेपालको आर्थिक स्थिति बिग्रनुमा सबै जिम्मेवार रहेको र सबै मिलेर हल खोज्नुपर्ने उनले बताए। थापाले देशको अर्थतन्त्रको विषयमा एमालेसँग पनि छलफल गर्न आग्रह गरे। ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गरेर जानुपर्छ। प्रदेश र स्थानीय सरकारमा एमाले पनि छ,’ उनले भने, ‘सबै मिलेर काम गर्नुपर्नेछ। सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एक अर्काको परिपूरकजस्तो हुनुपर्छ।’

