काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ। काठमाडौंमा आज दुवै पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन्।
आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए। कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन्।
पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६-६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो। समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सिपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य थिए।
बास्तोला नेतृत्वको नेकपा बहुमत केही समयअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएको हो। २०६९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा एकीकृत माओवादीबाट वैद्य अलग हुँदा उनलाई विप्लव र बास्तोलाले पनि साथ दिएका थिए। विभाजन गरेर वैद्यले नेकपा-माओवादी गठन गरेका थिए। प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए। विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी बनाएपछि अहिले वैद्यसँग एकता गरेका हुन्।

