सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले यसरी मनाउँदै विशुपर्व तथा नयाँ बर्ष

मेलवर्न । सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले आगामी विशुपर्व महोत्सव तथा नेपाली नयाँ वर्ष २०८०को अवसरमा गाला डिनरसहितको कार्यक्रम आयोजना गरेको छ ।

समाजका अध्यक्ष नरेश रावलले नेपालीहरुको नयाँ बर्षको स्वागत, उत्सव मनाउनुको साथै विशु पर्वको अवसरमा विशेष सांगीतिक, सांस्कृतिक कार्यक्रमहरुसँग गाला डिनर आयोजना गरिएको जानकारी दिए ।

१६ अप्रिल २०२३ मा साँझ साढे ५ बजेबाट एस्टोनिया हाउस ब्रन्सविक वेस्टमा आयोजित कार्यक्रममा यही मार्चमा सम्पन्न न्याभ कपमा च्याम्पियन बन्न सफल फारवेस्ट हन्टर्स क्रिकेट समूहलाई सम्मान कार्यक्रम समेत राखिएको रावलले बताए ।

चाडपर्व नयाँ सुरुवातलाई अँगाल्ने, हाम्रो संस्कृति र परम्परालाई मनाउने र हाम्रो एकता प्रदर्शन गर्ने समय भएको कारण पनि यो कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाई छ ।

यो कार्यक्रम गर्न आंशिक रूपमा भिक्टोरियन बहुसांस्कृतिक चाडपर्व र कार्यक्रम अनुदान मार्फत सहयोग प्राप्त भएको समाजले जनाएको छ ।

उक्त कार्यक्रमको अवसरमा परम्परागत विशुपर्व अनुष्ठान, सांस्कृतिक प्रदर्शनसहितका विभिन्न प्रस्तुतीहरु आयोजना गरिएको छ ।

सुदूरपश्चिम नेपाली समाज भिक्टोरिया नेपाली संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न र भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूका बीचमा सामुदायिक भावना जगाउन समर्पित गैरलाभकारी सामुदायिक संस्था भएको भन्दै समाजले विशुपर्व महोत्सवमा सहभागी भएर भिक्टोरियामा रहेका नेपाली समुदायलाई बलियो बनाउने प्रयासलाई समर्थन गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय