काठमाडौं। अर्थतन्त्र संकटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन्। यही चैत १७ मा अर्थमन्त्रीको शपथ लिएसँगै उनी अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नरदेखि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, सुझाव संकलन तथा अन्तर्क्रियामा व्यस्त रहेका छन्।
एक सातामा देखिएको उनको सक्रियता र अभिव्यक्तिले अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित भएको सरोकारवालाले टिप्पणी गरेका छन्। ‘अर्थतन्त्रमा देखिएका समस्या पहिचान भइसकेका छन्,’ अर्थमन्त्री डा महतले भने, ‘ती समस्या समाधानका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बाटोमा अग्रसर छौं।’ अर्थतन्त्रलाई लयमा ल्याउने गरी आफूले काम गर्ने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ।
निजी क्षेत्रले पनि अर्थतन्त्र बुझेको विज्ञ अर्थमन्त्री अर्थ मन्त्रालयको नेतृत्वमा आउँदा आफूहरूले उठाएका माग सम्बोधन हुनेमा विश्वास व्यक्त गरेको छ। अर्थमन्त्री भएलगत्तै गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, सेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स एशोसिएसन, राजस्व चुहावट नियन्त्रण समितिलगायत संघसंस्था एवं सरोकारवालासँग परामर्श गरिसकेका छन्। साथै विदेशी दातृ निकाय र विकास साझेदारसँग पनि मुलुकको अर्थतन्त्रको सुधारलगायतका विषयमा महत्त्वपूर्ण छलफल गरेका छन्।

