काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा जनवरीमा भएको कुराकानी अहिले सार्वजनिक हुनु पार्टीविरुद्धको षडयन्त्र भएको बताएका छन्। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सत्य नभएको दाबी गरे।
बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले आफूलाई सुनियोजित रुपमा फसाउन खोजेको दाबी पनि गरेका छन्। ‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’
श्रेष्ठले आफ्नो भनेर मिडियामा आएको अडिओलाई सम्पादन गरिएको भनेर दाबी गरे। ‘अहिले मैले बोलेको (कुरालाई) अर्को बनाएर पनि बाहिर ल्याउन सकिन्छ। ह्वाट्स् एपमा कुरा गरिएको भनिएको छ। मेरा कुराहरू कहाँ-कहाँ जोडेर मिडियामा आएको छ,’ उनले भने।
श्रेष्ठले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए। उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु, त्यति बेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अप्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्राथि छु।’

