सिद्धार्थनगर। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको टिप्पणी गरेका छन्। लोकतान्त्रिक गणतन्त्र ल्याउन लागेका दलहरूबाटै वर्तमान व्यवस्था खतरामा रहेको उनको भनाई छ।
राजनीति गर्नेहरू निजी स्वार्थमा लाग्नु खतराको पूर्वसंकेतका रुपमा देखा परेको अध्यक्ष केसीको टिप्पणी छ। बुटवलमा शुक्रबारदेखि सुरु भएको रक्तिम सांस्कृतिक अभियानको चौथौँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष केसीले साम्यवादी व्यवस्थामा पुग्ने राष्ट्रिय जनमोर्चाको बाटो अप्ठ्यारो रहेको पनि उल्लेख गरे।
उनले राजनीतिक, आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति आवश्यकता औँल्याए। प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले सत्ता र शक्तिमा बसेकाहरू आफूलाई ठूला दलका नेता भन्नेहरूले राजनीतिलाई उद्योग बनाएर देशलाई लुटेको आरोप लगाए। राज्यले नै नेपालमा भएका उद्योग कलकारखाना बेचेकाले देशलाई चाहिने युवा जनशक्ति अहिले बाध्यताले विदेश पलायन हुनुपरेको उनको भनाई छ।
अध्यक्ष केसी देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरू बोल्न नसकेको आरोप पनि लगाए। विदेशी शक्ति केन्द्रले नेपालमा हस्तक्षेप गर्दा पनि ठूला दलका नेताहरू मौन बसेको उनको आरोप छ।

