एजेन्सी। भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्यांकअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो।
युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ। युएनएफपीएको प्रतिवेदनको जनसांख्यिक सूचकमा यो तथ्यांक समावेश गरिएको छ।
सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसंख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो। गत वर्ष चीनको जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्यो भने सोही अवधिमा भारतको जनसंख्यामा बढोत्तरी भएको छ।
प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ। चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ।
विज्ञहरूका अनुसार भारतलाई अहिले जनसांख्यिक लाभ भएको छ। उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसंख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ। देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ। कोभिड-१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ।