दमौली। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसबाट पहिचान बनाएकाहरूले काँग्रेसलाई भुल्न नहुने बताएका छन्। नेपाली काँग्रेस तनहुँले आज व्यास नगरपालिका-३ मा आयोजना गरेको कार्यक्रममा उनले काँग्रेसबाट अवसर लिनेहरू नै अहिले काँग्रेसलाई भुलेको आरोप लगाए।
‘काँग्रेसबाट अवसर लिएकाहरूले नै आज काँग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ, आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो,’ महामन्त्री शर्माले भने। उनले आमालाई एक दिन मात्र नभई सधैँ सम्मान गर्नुपर्ने बताए।
‘एक दिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान् हुन् सधैँ सम्मान गर्नुपर्छ,’ शर्माले भने। उनले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै उनले भने, ‘उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यही बेला लड्छु भनेर बस्नुभएको हो। उहाँमा मातृभूमिप्रति सम्मान छ।’

